नेपालगन्ज : प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरूले घरदैलो, सभा र भेटघाटलाई केन्द्रमा राखेका छन् । यसैक्रममा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका दिपेन्द्र बिष्टले जेष्ठ नागरिक र युवासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्दै अभियान सञ्चालन गरिरहेका छन् ।
पछिल्ला केही सातादेखि बिष्ट गाउँ–बस्तीका टोल, चौतारी र घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन्। उनी विशेषगरी जेष्ठ नागरिकका घरमा पुगेर स्वास्थ्य सेवा, सामाजिक सुरक्षा भत्ता, राज्यको पहुँच र दैनिक जीवनका समस्याबारे जानकारी लिने तथा सुझाव संकलन गर्ने काममा व्यस्त छन्। स्थानीयस्तरमा वृद्धवृद्धाले स्वास्थ्य उपचारको सहज पहुँच, नियमित सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनका विषय उठाउने गरेको बिष्ट बताउँछन् ।
उनका अनुसार जेष्ठ नागरिकका मुद्दा निर्वाचनमा पर्याप्त रूपमा प्राथमिकतामा नपर्ने भएकाले आफूले त्यसलाई अभियानको मुख्य एजेन्डा बनाएका छन्। “उहाँहरूका समस्या र अपेक्षालाई नीतिगत तहसम्म पु¥याउने प्रयास गर्नेछु,” उनले भने । जेष्ठ नागरिकसँगै बिष्टले युवा पुस्ताका मुद्दालाई पनि जोड दिएका छन् । आफूलाई ‘जेन–जी’ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै उनले रोजगारी, शिक्षा, अवसर र राजनीतिक सहभागितासँग सम्बन्धित विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । विगतका राजनीतिक आन्दोलनमा सहभागी घाइते तथा प्रभावित व्यक्तिहरूको पुनस्र्थापना र सम्मानका लागि स्पष्ट नीति आवश्यक रहेको उनको धारणा छ ।
अभियानका क्रममा उनले भाषण र औपचारिक सभाभन्दा प्रत्यक्ष भेटघाटलाई बढी प्रभावकारी मान्दै आएका छन्। स्थानीयहरूका अनुसार बिष्टले साना समूहमा छलफल, सुझाव संकलन र समस्या सुन्ने कार्यक्रमलाई निरन्तरता दिएका छन्। केही स्थानमा जेष्ठ नागरिक र युवाबीच संयुक्त अन्तरक्रिया पनि आयोजना गरिएको छ ।
बाँके–२ मा यसपटक विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा बढ्दो छ । अधिकांश उम्मेदवारहरूले विकास, पूर्वाधार, रोजगारी र सेवा–सुविधाका विषयलाई प्राथमिकतामा राख्दै चुनावी कार्यक्रम गरिरहेका छन्। यस सन्दर्भमा बिष्टले सामाजिक सुरक्षा, पुस्तागत समावेशिता र प्रत्यक्ष संवादलाई आफ्नो अभियानको विशेषता बनाएको देखिन्छ । स्थानीय मतदाताहरूका अनुसार घरदैलो केन्द्रित अभियानले उम्मेदवार र नागरिकबीच प्रत्यक्ष सम्बन्ध विस्तार गर्न सहयोग पुगेको छ। यद्यपि निर्वाचन परिणाममा यी एजेन्डाले कति प्रभाव पार्छन् भन्ने कुरा भने मतपरिणामपछि मात्र स्पष्ट हुनेछ ।
बाँके–२ को चुनावी माहोल अहिले विभिन्न दलका कार्यक्रम, भेटघाट र प्रचारप्रसारले सक्रिय बनेको छ । यस्तो अवस्थामा जेष्ठ नागरिक र युवाका मुद्दालाई केन्द्रमा राखिएको बिष्टको अभियानले मतदाताबीच फरक प्रकारको बहस सुरु गरेको देखिन्छ ।
बाँके क्षेत्र नं. २ मा दिपेन्द्र बिष्टको घरदैलो अभियान, जेष्ठ नागरिक र युवाका मुद्दामा जोड
