बाँकेको जानकीमा किसानको २५ क्विन्टल गहुँ जल्यो

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका कुन्यो बनाएर राखिएको गहुँमा आगलागी हुँदा २५ क्विन्टल गहुँ जलेर खरानी भएको छ । जानकी गाउँपालिकाका किसानहरुले आफ्नै खेतमा कुन्यो बनाएर राखेको करिब २५ क्विन्टल गहुँमा आगलागी भएको प्रहरी चौकी बेलभार बाँकेले जनाएको छ ।
आगलागीबाट अन्दाजी ८७ हजार ५ सय रुपैयाँ बराबरको गहुँ बाली नष्ट भएको बताइएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाई गाउँ बस्ने २४ बर्षीय राम कुमार भुजुवाले आफ्नै खेतबारी सफा गर्ने क्रममा आगो लगाउँदा जानकी गाउँपालिका वडा नम्बर २ नेवाजी गाउँका ११ जना किसानको कुन्योमा आगो सल्किएको प्रहरीले जनाएको छ ।
आगलागी भएको खबर पाउनासाथ प्रहरी चौकी बेलभारबाट प्रहरी सहायक निरीक्षक रेशम बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली आगलागीस्थलमा खटिएको थियो । प्रहरी, दमकल र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएको छ । खेतमा आगो लगाउने भुजुवालाई नियन्त्रणमा लिइएको छ । घटना मंगलबार अपरान्ह साढे तीन बजेतिरको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *