नेपालगञ्जमा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता हुँदै

नेपालगञ्ज उप–महानगरपालिका–५ को आयोजनामा दोस्रो अन्तर वडा स्तरीय टेनिस क्रिकेट प्रतियोगिता रूपमा सञ्चालन हुने भएको छ । आगामी ६ गतेदेखि सुरु हुने प्रतियोगिता लगातार १२ दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा ३० भन्दा बढी टोलीहरूको सहभागिता रहने छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब तिन लाख ५० हजार रुपैयाँको बजेट तय गरिएको छ । जसअन्तर्गत वडा नम्बर ५ ले करिब दुई लाख रुपैयाँ व्यहोर्नेछ भने एक लाख ५० हजार नेपालगञ्ज उप–महानगरपालिकाले सहयोग गरेको छ ।
यसका साथै विभिन्न सहयोगी व्यक्ति र संस्थाहरूको समेत सहकार्य छ । कार्यक्रमलाई सफल बनाउन स्थानीय स्तरमा सक्रिय रूपमा काम गर्दै आएको रोयल स्पोर्ट क्लबले पनि महत्वपूर्ण सहयोग गर्ने जनाएको छ ।
युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु र उनीहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा संलग्न गराउनु यस आयोजनाको उद्देश्य हो । पछिल्लो समय युवाहरू विभिन्न विकृतितर्फ आकर्षित हुने जोखिम बढिरहेको अवस्थामा यस्ता प्रतियोगिताले उनीहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
वडा अध्यक्ष मोहम्मद सराफत खानले खेलकुदको विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,–‘युवाहरूलाई कुनै न कुनै रूपमा खेलमा संलग्न गराउनु अत्यन्त आवश्यक छ । यस टेनिस क्रिकेट प्रतियोगिताले यहाँको खेलकुद क्षेत्रमा अझ सक्रियता पैदा गर्नेछ । साथै, स्थानीय स्तरका खेलाडीहरूको प्रतिभा निखार्ने, उनीहरूलाई अवसर प्रदान गर्ने र भविष्यमा ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार गर्नेछ ।’
यस प्रतियोगिताले स्थानीय स्तरमा मात्र नभई समग्र नेपालगञ्ज क्षेत्रकै खेलकुद गतिविधिलाई चलायमान बनाउने वडा सदस्य जुबेदा जोलाहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न र खेलकुदको माध्यमबाट सामाजिक एकता तथा सहकार्यको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *