नेपालगञ्जमा रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले क्रिकेट पूर्वाधार विकासका लागि आवश्यक परे आफूले बजेट विनियोजन गर्ने र एक करोड रुपैयाँसम्म लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “जग्गा उपलब्ध गराउनुहुन्छ र खेलकुद तथा क्रिकेटका लागि छुट्याइदिनुहुन्छ भने, यसै वर्षदेखि नै मैले त्यसमा बजेट हाल्ने काम सुरु गर्छु । एक करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु ।”
उहाँले उक्त जग्गाको विषयमा स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै आफूले प्रत्यक्ष रूपमा अवलोकन गर्न चाहेको बताउनुभयो ।” म यहाँबाट जानुभन्दा अगाडि त्यो जग्गा हेर्न चाहन्छु र पैसा हालेपछि काम हुन्छ कि हुँदैन भन्ने कुरामा स्पष्ट हुन चाहन्छु,” उहाँले भन्नुभयो ।
मन्त्री पाण्डेयले एक वर्षभित्रै रंगशाला निर्माण सम्भव नभए पनि बहुवर्षीय योजनामार्फत क्रमिक रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । यदि बहुवर्षीय योजनामा राखियो भने हरेक वर्ष बजेट आउने र नेपालगञ्जमा पनि सिद्धार्थ रंगशाला जस्तै क्रिकेट रंगशाला बन्ने उहाँको भनाई थियो । खेलकुद क्षेत्रको विकासमा सबैको भूमिका आवश्यक रहेको उल्लेख गर्दै उहाँले नेपालमा खेलकुदप्रति लगानी र सहभागिता बढाउनुपर्ने बताउनुभयो ।”हामी धेरैजसो दर्शक मात्र बन्न चाहन्छौं, खेलाडी, अम्पायर वा लगानीकर्ता बन्न चाहँदैनौं,”
उहाँले भन्नुभयो ।
उहाँले लुम्बिनी प्रदेशबाट विगतमा राष्ट्रिय क्रिकेट टोलीमा उल्लेखनीय योगदान रहेको स्मरण गर्दै महिला क्रिकेट विकासका लागि पनि बजेट छुट्याइएको जानकारी दिनुभयो । उहाँले महिला क्रिकेटका लागि प्रदेशस्तरीय प्रतियोगितामा बजेट छुट्याइएको समेत जानकारी दिनुभयो ।
त्यसैगरी, रात्रिकालीन क्रिकेट प्रतियोगितालाई थप प्रोत्साहन गर्न पहिलो पुरस्कार रकम खेलकुद परिषदमार्फत उपलब्ध गराउने निर्णय गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रदेश सांसद अम्बिका काफ्लेले नेपालगञ्जलाई क्रिकेट खेल मैदानको आवश्यकता रहेकोले लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट त्यसका लागि पहल थाल्नुपर्ने बताउनुभयो । साथै उहाँले त्यस कुराको अगुवाई गर्न युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयलाई आग्रह समेत गर्नुभयो ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष कौशल कुमार धोबीले जग्गा उपलब्ध गराउने प्रतिबद्वता गर्नुभएको थियो ।
भेरी रकर्स स्पोर्टस क्लबको आयोजनामा नेपालगञ्जको विशालनगरमा बिहिबार साँझबाट रात्रिकालिन क्रिकेट प्रतियोगिता सुरु भएको हो । टेनिस बलले खेलिने प्रतियोगिता १० ओभरको हुने छ । ३२ वटा टिमले भाग लिने प्रतियोगिताको उपविजेताले एक लाख रुपियाँ पाउने क्लवका अध्यक्ष मोहम्मद साजिद खानले जानकारी दिनुभयो ।
क्लबले आयोजना गरेको यो चौथो संस्करण हो । क्लवका सचिव साहिल अन्सारीका अनुसार यस प्रतियोगितालाई बनाउन नेपालगञ्ज उप–महानगरपालिका, लुम्बिनी खेलकुद परिषद तथा अन्य थुपै व्यक्ति तथा संस्थाको सहयोग रहेको छ ।
लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय, सांसद अम्बिका काफ्ले, स्थानीय तहका जनप्रतिनिधि लगायको सहभागिता रहेको थियो । पहिलो खेलमा रोयल मनकामनाले टस जितेर व्याटिङ्ग रोजेको थियो ।
